Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

सङ्गीतप्रविधिमा आएका परिवर्तन र चुनौतीहरू

Home

Blog Details

सङ्गीतप्रविधिमा आएका परिवर्तन र चुनौतीहरू

April 27, 2025

समय गतिशील छ । समयसँगै हरेक क्षेत्र परिवर्तन हुँदै जान्छ । सङ्गीतमा समयले धेरै परिवर्तन देखाउँदै आएको छ । अझ सङ्गीतको प्रविधिमा त संसार कहाँ हो कहाँ ? तुलनै गर्न गाह्रो हुने अवस्था आएको छ । सङ्गीतको रेकर्ड गर्ने र सुन्ने प्रविधि दुवैमा समयले निकै फेरबदल गरिदिएको छ । किसिम किसिमका प्रविधि आइदिनाले कतिपय पुराना कुरा काम नलाग्ने हुँदै गएका छन् । नयाँ पुस्ताले कतिपय कुरा देख्नै नपाइकन हराउँदै गएका छन् । समयक्रमले फेरिने प्रविधिले सङ्गीतलाई परिस्कृत गर्दै लगेको छ ।

गीत रेकर्डको सुरुवाती चरणतर्फ फर्कने हो भने हामीलाई अनौठो लाग्छ । विश्वको सबैभन्दा पहिलो रेकर्ड गीतबारे जान्नु जरुरी छ । फ्रान्सका नागरिक एडवार्ड लियोन स्कट डे मार्टिनभिलले पहिलोपटक आफैँले आविष्कार गरेको फोनाटोग्राफमार्फत् सन् १८६० अप्रिल ९ मा आवाज रेकर्ड गरेका थिए ।

फ्रेन्च भाषामा रेकर्ड गरिएको “अ क्लियर द ले लुन” (जुनेलीमा) पहिलो रेकर्डेड गीत हो । फोनाटोग्राफले ध्वनिलाई तरङ्गहरूको चित्रमा रूपान्तरण गर्‍यो, जुन ग्लासजस्तो कागजमा कुँदिएको थियो। तर, यसको ध्वनि पछाडि सुन्न सकिने र पुनःउत्पादन गर्न सकिने थिएन । फोनोग्राफको आविष्कारपश्चात् भने ध्वनि वेभ ग्राफिक्सलाई फेरि सुन्न सकिने अडियो फाइलमा ट्रान्सक्रिप्सन गर्न सकिने व्यवस्था भयो ।
सन् १८७७ मा फोनोग्राफ आविष्कार भइसकेपछि रेकर्ड प्रविधिको सुरुवात भएको मान्न सकिन्छ । त्यसयता वाक्स सिलिन्डर, फ्ल्याट डिस्क, आरएसी भिक्टर, मास प्रोडक्सन, रेडियो ब्रोडकास्ट हुँदै विविध प्रविधिको विकास हुँदै गयो ।

भविष्यमा फेरि सुन्नका लागि ध्वनि रेकर्डिङको थालनी गरिएको हो। ध्वनि छुन र देख्न नसकिने कुरा हो। ध्वनि रेकर्ड गर्न वर्षौंको मिहिनेतपछि धेरै प्रविधिहरू विकसित भएका छन् । यही अमूर्त कुरालाई रेकर्डिङ गर्ने विभिन्न विधि तथा चरण यस्ता थिए ।
एकस्टिक तथा मेकानिकल युगः
यो ध्वनि रेकर्ड गर्ने सबैभन्दा पुरानो विधि थियो । यो रेकर्डिङ विधि सन् १८९० देखि १९२५ सम्म प्रचलनमा आएको थियो। त्यस अवधिमा सबै ध्वनि रेकर्डिङ माइक्रोफोन वा विद्युतीय प्रवद्र्धनविना मेकानिकल माध्यमद्वारा गरिएका थिए । सन् १९२५ अघि ध्वनि रेकर्डिङका लागि गायक र वाद्यवादक “हर्न” को सामु बसेर प्रत्यक्ष प्रस्तुति दिन्थे । जसबाट ध्वनि तरङ्ग सङ्कलित भएर डायाग्राममा पुग्थ्यो ।

ध्वनि तरङ्गहरूको ऊर्जाले डायाग्राममा कम्पन आउँथ्यो। जसले गर्दा खाली “मोम” घुमाउने सिलिन्डर वा डिस्कमा तरंगहरू आउँथे। यो विधिमा कुनै इलेक्ट्रोनिक नियन्त्रण थिएन । सिलिन्डर वा डिस्कजस्ता समतल सतहमा ध्वनि तरङ्गलाई शारीरिक रूपमा नक्काशी गर्न सुई प्रयोग गरिन्थ्यो त्यो समय यही विधिबाट गीत रेकर्ड गरिनु ठूलो कौशल मानिन्थ्यो। तर, यो रेकर्डिङ विधिको रेकर्ड दायरा सीमित थियो। मेकानिकल रेकर्डिङ उपकरणहरूको उदाहरणहरूमा फोनोग्राफ र ग्रामोफोनलाई लिन सकिन्छ ।

विद्युतीय युगः
यस समयमा इलेक्ट्रिकल रेकर्डिङ वैज्ञानिक प्रयोग र नवीनताको परिणामका रूपमा देखापर्‍यो। यस विद्युतीय विधिले एकस्टिक विधिलाई “रिप्लेस” गरेको थियो। सुरुमा कोलम्बिया रेकर्ड कम्पनी र भिक्टर टकिङ मेसिन कम्पनीले सन् १९२४ मा यसको प्रयोग गरेका थिए । यसले ध्वनिको गुणस्तरमा सुधार गर्‍यो। यो चरणमा ध्वनि इलेक्ट्रोनिक डिभाइसमा रेकर्ड गरिन्थ्यो । जसमा माइक्रोफोन, एम्प्लिफियरलगायतका फरक उपकरणको प्रयोग गरिन्थ्यो ।

विद्युतीय माइक्रोफोनले गायकहरूको प्रदर्शन शैलीमा नाटकीय परिवर्तन ल्यायो, इलेक्ट्रोनिक प्रवद्र्धनले धेरै क्षेत्रमा व्यापक प्रभाव पार्‍यो । जसले रेडियो, सार्वजनिक ठेगाना प्रणाली र इलेक्ट्रोनिक विकासलाई सहज बनायो। यही नै वेला ध्वनि प्रदान गर्ने व्यावहारिक विधि प्रयोगमा आए । यस चरणका प्रविधिमा अडियो स्रोतहरू एकसाथ सुन्न सकिन्थे ।
यस चरणमा सम्मिश्रित ध्वनिको सबभन्दा प्रसिद्ध उदाहरणहरू मध्ये एक जोनी वेइसमुलर अभिनित टार्जन फिल्महरूको शृङ्खलाका लागि बनाइएको प्रख्यात “टार्जन चिल्ला” हो। यद्यपि, यो टेक्नोलोजीले समूहको प्रत्यक्ष प्रदर्शनमा भने परिवर्तन ल्याउन सकेन । यो १९४५ सम्म रह्यो। यस चरणमा रेकर्ड भएका गीतहरू डिक्समा सुन्न सकिन्थ्यो ।

चुम्बकीय युगः
सन् १९३० मा जर्मनीमा चुम्बकीय टेप रेकर्डिङ आविष्कार भएपछि अडियो रेकर्डिङमा नयाँ परिवर्तन देखापर्‍यो। दोस्रो विश्वयुद्धको अन्त्यसम्म जर्मनीमा मात्र सीमित रह्यो। यो सन् १९४५ देखि १९७६ सम्मको चरणमा प्रयोगमा आएको प्रविधि हो। १९५० पछि चुम्बकीय टेप द्रुत गतिमा रेडियो र सङ्गीत उद्योगहरूमा अडियो मास्टर रेकडिर्ङको मानक माध्यम भयो ।

यस प्रविधिले चुम्बकीय टेप प्रयोग गरेर ध्वनि रेकर्ड गर्न र प्ले गर्न थाल्यो । यस प्रविधिमा ध्वनि रेकर्ड गर्न चुम्बकीय टेप वा डिस्क प्रयोग गर्नु पर्थ्यो । टेप वा डिस्क चुम्बकीय सामग्रीको साथ लेपित हुन्थ्यो र ध्वनि चुम्बकीय टाउको प्रयोग गरेर त्यसमा रेकर्ड गरिन्थ्यो । चुम्बकीय रेकर्डिङ उपकरणहरूको उदाहरणहरूमा रिल–टु–रिल टेप रेकर्डरहरू र क्यासेट टेपहरू हुन् । घरेलु बजारका लागि पहिलो हाईफाई रेकर्डिङको विकासको कारण भयो। उच्च गुणस्तर र प्रयोगको सजिलोको कारण चाँडै लोकप्रिय भयो । चुम्बकीय टेपले अडियो विश्वसनीयतामा अर्को फड्को मार्‍यो ।

यस प्रविधिमा पनि समयक्रममा धरै सुधार आयो । यसैमा आधारित भएर ध्वनि रेकर्डमा नौलानौला आयामहरू थपिँदै गए । सङ्गीतका लागि मल्टिट्र्याक टेप रेकर्डिङको विकास भयो। ध्वनिका लागि डिस्कको अन्त्य भयो। चुम्बकीय टेपले रेकर्डिङ प्रक्रियाको मौलिक आकार पनि ल्यायो। यसले पहिलेको तुलनामा धेरै लामो अवधिसम्म सम्भव हुने रेकर्डिङ बनायो ।
यसले रेकर्डिङ इन्जिनियरहरूलाई पनि निकै सहज बनाइदियो। टेपमा कैद गरिएको आवाज सजिलैसँग हेरफेर गर्न, सम्पादन गर्न र डिस्क रेकर्डिङमा असम्भव हुने कुरा यसले सम्भव बनायो। १९५० को दशकमा ठूला “भर्चुअल” आवाजहरू र यन्त्रहरू निर्माण गरेको थियो। चुम्बकीय टेपले लोकप्रिय सङ्गीत र अन्य विधाहरूको परिष्कारमा दु्रत विस्तारलाई बढावा दियो ।

यसै प्रविधिमा आधारित रहेर स्टेरियो रेकर्डिङ प्रविधि आयो । स्टेरियो प्रविधिले विभिन्न कोणहरूबाट ध्वनि क्याप्चर गर्न धेरै माइक्रोफोनहरू प्रयोग गर्न थाल्यो । त्यसपछि यसमा अधिक इमर्सिभ र यथार्थवादी ध्वनि अनुभव गर्न पाइयो । स्टेरियो रेकर्डिङ सामान्यतया सङ्गीत उत्पादन र फिल्म ट्रयाकमा प्रयोग गर्न थालियो ।

स्टेरियो रेकर्डिङपश्चात् यसैको अर्को नवीनतम स्वरुप बाइनायुरल प्रविधि विकसित भयो । यो स्टेरियो रेकर्डिङको एक विशेष रूप हो । यसमा प्रयोग गरिने माइक्रोफोनहरू वास्तविक जीवनमा मानिसहरूले ध्वनि सुन्ने तरिकासँग मिल्दोजुल्दो छ । बाइनायुरल रेकर्डिङ प्रायः भर्चुअल रियालिटी र भिडियो गेमजस्ता इमर्सिभ अडियो अनुभवहरूको लागि प्रयोग गरिन्छ ।

सन् १९७४ सम्म विकसित यिनै प्रविधिले ध्वनि रेकर्डको क्षेत्रमा आमूल परिवर्तन गरेर डिजिटल युगमा जाने पृष्ठभूमि तयार गरिरहेका थिए । विज्ञानको चमत्कार देखेर मानिसहरू दङ्ग थिए ।

डिजिटल युगः
सन् १९७५ यता डिजिटल प्रविधिमार्फत् ध्वनिको सङ्ग्रह गरिने गरिएको छ । हालको चरण डिजिटल युगमा छ । जुन रेकर्डिङको इतिहासमा परिवर्तनको सबैभन्दा ठूलो फड्को हो। जापानी इलेक्ट्रोनिक्स कर्पोरेसन सोनीले सन् १९७० को दशकमा पहिलोपटक पिसिएम एन्कोडर पिसिएम–१ अडियो युनिटको प्रयोग गर्‍यो ।

सन् १९७९ मा अघिल्ला प्रविधिहरूको विपरीत यसले ध्वनि रेकर्ड भइरहेको निरन्तर एनालगलाई कब्जा गर्‍यो। यस अवधिमा धेरै अल्पकालीन हाइब्रिड स्टुडियो र उपभोक्ता टेक्नोलोजी देखापरे। उदाहरणका लागि डिजिटल अडियो टेप वा डाटा, जसले मानक चुम्बकीय टेपमा डिजिटल सिग्नल नमुना रेकर्ड गर्न थाले। सोनीले आफ्नो नयाँ डिजिटल रेकर्डिङ प्रणालीको विकासलाई प्रस्तुत गरी फिलिप्सको साथ आजको सबैभन्दा उन्नत अडियो ढाँचा डिजिटल कम्प्याक्ट डिस्क (सिडी) को प्रयोग गर्‍यो।

२० औं शताब्दीको अन्त्यसम्ममा कम्प्याक्ट डिस्कले उपभोक्ता अडियो बजारमा लगभग पूर्णरूपमा प्रभुत्व जमाएको थियो। यसको पछिल्लो दशकमा कम्प्युटिङ टेक्नोलोजीमा द्रुत विकासले अडियो रेकर्डिङ इतिहासको सबैभन्दा महत्वपूर्ण युग बनायो, जसले फाइल आकारलाई ठूलो मात्रामा कम गर्‍यो।

अडियो र अन्य डिजिटल मिडिया फाइलहरूको व्यापक इजाजतपत्र वितरण हुनथाल्यो। उच्च गतिमा डिजिटल मिडिया फाइलहरूको ठूलो खण्डहरू अपलोड गर्ने र डाउनलोड गर्ने काम नेपस्टर र बिटटोरन्ट जस्ता फ्रि–वेयर टेक्नोलोजीले गरे। तीव्र इन्टरनेट सिग्नल र डाटा भण्डारणले उपकरणहरूमा लगातार सुधार भयो।

सन् २००० पछिदेखि सङ्गीतप्रसारण सेवाहरूले लोकप्रियता पाएका छन् । स्ट्रिमिङ अडियोलाई श्रोताले अडियो फाइलहरू डाउनलोड गर्न वा आनै स्वामित्व लिन आवश्यक पर्दैन । स्ट्रिमिङ सेवाहरूले सङ्गीत सुन्ने वैकल्पिक विधि प्रदान गर्छ । यससँगै ध्वनि रेकर्डिङका थुप्रै र विशाल प्रविधिहरू भित्रिरहेका छन् ।

सिडी र डिजिटल अडियोसँगै नयाँ उपकरणले तीव्रता पाएका छन् । सन् १९९६ मा आएको “एमपी–३” लामो समय प्रचलनमा आयो। अहिले पनि यसको प्रयोग देख्न सकिन्छ । यसलाई गुणस्तर र भरपर्दो रेकर्ड माध्यम मानिन्छ । सन् १९९९ मा आएको डिजिटल मनिटर्सले अर्को सुविधा थपिदियो। यसमा मिडिया प्लेयर र लाइब्रेरी दुवै समावेश थिए । आइट्युन्सले विकास गरेको यस प्रविधिमार्फत् कम्पनीले प्रयोगकर्ताहरूलाई सङ्गीत डाउनलोड गर्न, व्यवस्थित गर्न र असङ्ंख्य फाइल भण्डारण गर्न अनुमति दिएको छ ।

सन् २००६ मा आएको “मेजर ट्रान्जिक्सन” ले विशाल टावर रेकर्डहरू, जसले सेभिङ र अभिलेखमा महत्वपूर्ण भूमिका खेल्यो। वर्तमान समयमा अडियो सुरक्षित गर्न मेमोरी, पेनड्राइभ वा अनलाइन एपहरूलगायत विभिन्न माध्यमको प्रयोगसमेत गरिन्छ । युट्युवको विकास भएसँगै युट्युवमा समेत सामग्री सुरक्षित राख्न थालिएका छन् । ध्वनि रेकर्डिङ र संरक्षणको प्रशस्त विकल्प र मार्ग पहिल्याउन हामीलाई कुनै समस्या छैन ।

विश्वमा हाल एक दिनमै लाखौं गीत रेकर्ड र उत्पादन हुनेगर्छ । त्यसैले ध्वनि रेकर्ड एउटा स्वभाविक प्रक्रियाजस्तो भइसकेको छ । अहिले रेकर्डेड आवाजको दुनियाँ अर्कै भइसकेको महसुस गर्न सकिन्छ । पछिल्लो समय आएका ध्वनि सङ्ग्रहणका नयाँ प्रविधिले रेकर्ड विधिमै नयाँपन भिœयाइरहेका छन् । सन् १९८३ यतालाई हेर्ने हो भने सङ्गीत वा ध्वनि रेकर्ड तथा संरक्षणका नयाँ उपकरणमा क्रान्ति नै भएको मान्न सकिन्छ ।

नेपालमा ध्वनि रेकर्डिङः
निकै लामो समयसम्म नेपाली गीत सङ्गीत श्रुति परम्परामा रहयो । वि.सं. १९६५ मा सेतुरामले प्रथम गीत रेकर्ड गरेर सुरु गरेको सङ्गीतकर्म त्यतिखेरको युगान्तकारी काम थियो । नेपाली गीत पहिलोपटक डिक्समा रेकर्ड भएको थियो । उसवेला रेकर्डिङ गर्न भारतको कलकत्ता जानुपर्थ्यो । श्रुतिपरम्पराबाट यसरी रेकर्डिङ युगमा प्रवेश गरेको नेपाली सङ्गीत यसपश्चात् अर्को ५७ वर्ष यही प्रविधिमा रमाइरहयो ।

कुनै जमाना थियो, जब सेतुराम श्रेष्ठ, मास्टर मित्रसेन र मेलवादेवीका कलकत्तामा रेकर्ड भएका गीतहरू डिक्स रेकर्डमा उपलब्ध भए पनि नेपालका शासक र घरानियाहरूको बैठकमा सजिएको ग्रामोफोनमा मात्र घन्किन्थे । आमनेपालीलाई ग्रामोफोन मङ्हगो थियो । स्वदेशमै रेडियो स्टेसन नभएकाले ती गीत रेडियोमा बज्ने कुरै भएन । आमजनताले ती गीत सुन्न पाएनन् ।

सङ्गीत बेच्ने पसल थिएनन् तर सङ्गीतप्रेमी थिए । तिनका घरमै गायक स्वयम्‌ले गीतको डिक्स लगेर बेच्थे । यो क्रम निकै पछिसम्म पनि कायम रहयो । यतिमै पनि तत्कालीन सङ्गीतकर्मी रमाएका थिए । सानो रूपमा भए पनि व्यावसायिक आकार ग्रहण गरेको थियो ।

२००७ सालको परिवर्तनसँगै रेडियो स्टेसनको स्थापना भएपछि गायक– गायिकाहरूको एउटा जमात हुर्किन थाल्यो । रेडियो नेपाल स्थापना भएको धेरै वर्षसम्म पनि नेपालमा रेकर्डिङको व्यवस्था थिएन । त्यस समय अधिकांश गीत–सङ्गीत रेडियो नेपालको लगानीमा रेकर्ड गरिन्थ्यो । केही चुनिएका गीत र गायकलाई रेडियो नेपालले कलकत्ता लगेर रेकर्ड गराउँथ्यो । तीनै गीत रेडियोबाट प्रसारण हुन्थ्यो ।

साह्रै झन्झटिलो काम मानिथ्यो पहिला गीत रेकर्डिङलाई । त्यतिखेरको प्रविधि पनि कम गाह्रो थिएन । अझ त्यसमा पनि स्वदेशमै रेकर्डिङको काम हुननसक्दा बोझिलो थियो यो काम । सामरिक महत्वले अरू कुरामा जति नेपालको अर्थतन्त्र भारतमाथि निर्भर छ, सुरुका दिनमा रेकर्डिङ पनि त्यसरी नै भारतमै निर्भर थियो ।

वि.सं. २०१६ सालमै रेकर्डिङ गर्ने प्रविधि भिœयाइए पनि २०२२ सालतिर मात्र नेपालमा रेकर्डिङ हुनथाल्यो । यसअधि जेजति प्रसारण हुन्थे ती सब प्रत्यक्ष प्रसारण हुन्थे । कलाकारहरू आफ्नो गाउने पालो स्टुडियो बाहिर रहेको पोखरीमा माछा मार्दै वा गफिँदै पर्खिने गर्दथे । “तिम्रो पालो आयो” भनेर कसैले मूलढोकाबाट चिच्चाएपछि फसेको माछा र बल्छी त्यहीँ छाडेर स्टुडियोकै ढोकाबाट आलाप लिएर पनि गीत गाउँथे त्यतिवेलाका गायक– गायिकाहरू ।

वि.सं. २०१७ सालमा स्थापना भएको सरकारी स्वामित्वको रत्न रेकर्डिङ स्टुडियो नै नेपालको पहिलो रेकर्डिङ स्टुडियो हो । रत्न रेकर्डिङको स्थापनासँगै नेपालमा गीत रेकर्डिङ गर्नसकिने त भयो तर सर्वसाधारणको चाहना र योग्यताको कदर सो संस्थाबाट हुन नसकेको गुनासो पुराना सङ्गीतकर्मीहरूको छ । सुरुसुरुमा कलाकारहरूको सङ्ख्या कम भएकाले गाउनका लागि त्यति प्रतिस्पर्धा गर्नु नपरे पनि कलाकारको सङ्ख्या वृद्धिसँगै रत्न रेकर्डिङमा व्यापक प्रतिस्पर्धा र पक्षपातका घटनाहरू बढ्न थाल्यो । त्यसमाथि पनि त्यसबेलाको रेकर्डिङ प्रक्रिया सहज किसिमको थिएन । लाइभ रेकर्ड हुने त्यस समयमा रत्न रेकर्डिङमा रेकर्ड गराएर रेडियो नेपालबाट गीत बजाउनु ठूलो युद्ध जिते जत्तिकै हुने गरेको यथार्थ पुराना गायकहरू बताउँछन् ।

रत्न रेकर्डिङले नेपालमा २३ वर्ष एकक्षत्र राज गर्‍यो । अर्को कुनै स्टुडियो नभएकाले जे गर्नु परे पनि यसकै भर पर्नुपर्थ्यो । सरकारी–गैरसरकारी सबै काम यहीँ हुन्थ्यो । वि.सं. २०४० सालमा म्युजिक नेपालले स्टुडियो स्थापना गरेपछि बल्ल नेपालमा निजी क्षेत्र पनि यस क्षेत्रमा सलबलायो । पछि सरकारले रत्न रेकर्डिङ बन्द गराएर यसको सबै सम्पत्ति रेडियो नेपाललाई दियो ।

रेडियो नेपाल र म्युजिक नेपालको मात्र स्टुडियो हुँदा एल्बम निकाल्ने कुरा अलि गाह्रो काम मानिथ्यो । रेडियो नेपालमा निवेदन दिएको एक वर्षपछि पनि गीत रेकर्डिङ गर्ने पालो पाउन मुस्किल हुन्थ्यो । तर यो समय २०४५ पश्चात् रहेन । निजी क्षेत्रबाट अरू स्टुडियो पनि खुलेपछि तुरुन्त काम हुने परिस्थिति पनि बन्यो । आज नेपालमा संसारमा भएका सबै प्रविधि, स्रोत साधन छ । रेकर्डिङमा नेपाल आत्मनिर्भर छ ।

रेकर्डिङ क्षेत्रका चुनौतीहरूः
संसारमा देखापरेका सबै रेकर्डिङ प्रविधिहरू नेपालमा पनि ढिलो चाँडो आए । पहिलो प्रविधिदेखि अहिलेसम्मको अन्तिम प्रविधिमा पनि नेपाली गीत रेकर्ड भएका छन् । आफ्नो आकाङ्क्षा पूरा गर्न र श्रोताको मन जित्न स्वच्छ प्रतिस्पर्धात्मक अवस्था सिर्जना भइसकेको छ । सहर सहर र टोलटोलमा खुलेका स्टुडियोहरूले साङ्गीतिक क्षेत्रमा लाग्न चाहनेलाई निकै सघाउ पुर्‍याएका छन् ।
सङ्गीतका पुराना प्रविधिभन्दा डिजिटल प्रविधिले झन्झट हटाइदिएकाले निकै सरल महसुस हुनथालेको छ । अहिले त झन् क्यासेट, सिडीमा सार्नुपर्ने झन्झट पनि छैन । सिधै आफूलाई मन परेको प्रविधिमा गीत लिएर जान मिल्ने भएको छ ।

प्रारम्भमा डिक्समा हुने रेकर्डिङ वि.सं. २०२२ पश्चात् क्यासेटमा आइपुग्यो । क्यासेटपछि सिडी हुँदै अहिलेको उच्चतम् प्रविधिमा आइपुगेको छ । हँुदाहुँदा अहिले त गीत–सङ्गीत कपी नै गर्नुनपर्ने अवस्थामा आइपुगेको छ । सिधै इमेलमा रेकर्डेड फाइल लियो अनि जहाँ जुन माध्यममा पठाए पनि हुने अवस्था आयो । हिजोआज गीतहरू हावामा उडिरहेका हुन्छन् । जुन वेला जे मन लाग्यो त्यही सुन्न सकिने अवस्था आएको छ । न त स्टोर नै गर्नु पर्‍यो, न त किन्नु नै पर्‍यो ।

आर्थिक उपार्जनको दृष्टिकोणले हेर्ने हो भने २०५० ताका मात्र सङ्गीत बजार फराकिलो हुनथालेको र गीत–सङ्गीतमा लगानी गरेर पनि बाँच्न सकिन्छ भन्ने आधार निर्माण भएको पाइन्छ । विभिन्न आरोह–अवरोह पार गर्दै वर्तमान डिजिटल युगसम्म आइपुगेको नेपाली सङ्गीतजगत् डिजिटल युगमा प्रवेश गरेपछि एल्बम निकाल्ने चलन हराइसकेको छ । गीतहरू डिजिटल प्लेटफर्ममार्फत् सार्वजनिक हुनेगरेका छन् ।

गुणस्तरको कुरामा पनि एनालगभन्दा कमजोर छैन अहिलेको प्रविधि । तर पुरानो सुन्ने बानी परेकाले डिजिटल मन नपराएको पनि भेटिन्छ । कम्प्युटराइज प्रविधिद्वारा काम गर्न सजिलो हुने भए पनि सुन्दाखेरिको मिठासचाहिँ एनालग प्रविधिमै रहेको मान्ने जमात पनि कम छैन । अझ लाइव रेकर्डिङ नै राम्रो भन्नेहरू पनि छन् । अहिलेको सङ्गीतमा प्राण नै छैन भन्नेहरू पनि ठूलै सङ्ख्यामा भेटिन्छन् । तर बाध्यताचाहिँ डिजिटल सिस्टममै काम गर्नुपर्ने अवस्था आइसकेको छ । पुराना प्रविधि सबै लगभग हराइसके । पुरानो पुस्ता र पुरानै प्रविधिमा रमाएका सर्जकहरूको मन डिजिटल प्रविधिले अझै जित्न भने सकेको देखिँदैन । पुरानो पुस्तालाई सन्तुष्टि दिन अहिलेको पुस्तालाई ठूलै चुनौती भएको छ ।

वि.सं. २००७ मा रेडियो नेपालको स्थापनासँगै नेपाली सङ्गीत विकसित हुनथालेको हो । बिस्तारै फस्टाउँदै अहिले नेपाली सङ्गीत समृद्ध भैसकेको छ । प्रसारणका विभिन्न माध्यमहरूका साथै रेकर्डिङ स्टुडियोहरूको स्थापनाले नेपाली गीत–सङ्गीत अन्य मुलुकको स्तरमा प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा पुगेको छ । काठमाडौंलगायत नेपालका अन्य सहरहरूमा पनि अहिले अत्याधुनिक रेकर्डिङ स्टुडियोहरूको स्थापना भैसकेका छन् । विगतमा झैं गीत रेकर्डिङ गर्न अहिले विदेश जानुपर्ने बाध्यता छैन । तर सङ्गीतको गुणस्तर कायम राख्न भने ठूलै चुनौती अहिलेका रेकर्डिस्ट र स्टुडियोलाई आइपरेको छ । मेसिन नवीनतम भए पनि हातमा सीप र ज्ञान नभएपछि गुणस्तरबारे वेलावेलामा गुनासो सुनिन्छ ।

नेपालमा अन्य क्षेत्रको तुलनामा सङ्गीत निकै अगाडि छ । सङ्गीतको बढ्दो लोकप्रियता र व्यापकतासँगै रेकर्डिङ स्टुडियो पनि त्यतिकै वृद्धि भए । गुणस्तरजस्तो भए पनि चर्चाचाहिँ निकै हुनेगरेका त्यस्ता स्टुडियोहरू काठमाडौँमा मात्रै १०५ वटा छन् । व्यावसायिक रूपमा समेत धेरैजसो स्टुडियोले सफलता प्राप्त गरेको देखिन्छ ।

गुणस्तरभन्दा पनि फेसनका रूपमा स्थापना भएका स्टुडियोहरूमा रेकर्डिङका साथै छायाङ्कन, प्रशिक्षण, युट्युब च्यानल आदि समेत गर्ने प्रचलन बढेको छ । गीत–सङ्गीतको बढ्दो लोकप्रियताले गायक–गायिका बन्ने धुनमा सयौं युवकयुवतीहरू दौडधुप गरिरहेकाले पनि रेकर्डिङ स्टुडियो फस्टाएका छन् । तर सङ्गीतको गुणस्तर खस्किएको र जसलाई पनि गायक– गायिका बनाइदिएको आरोप स्टुडियोहरूले खेपिरहेका छन् ।

दुई दशकअघिसम्म गायक–गायिकाले आनो गीत रेकर्ड गर्न महिनौं कुर्नुपर्ने स्थिति थियो । अचेल पैसा छ भने क्षणभरमै हुन्छ रेकर्ड । यसरी गायक–गायिकाले छानिछानि चाहेको वेला गीत रेकर्ड गर्न सम्भव भएपछि यसलाई सकारात्मक रूपमा लिनै पर्‍यो । रेकर्डिङको दुनियाँमा यो एउटा फड्को नै हो ।

रेकर्डिङ स्टुडियोको वृद्धि र आधुनिक सुविधाले गला र सरगमका पारखीहरूलाई सजिलो बनाइदिएको छ । तर स्टुडियोहरू व्यापारमुखी भएपछि रेकर्डिङको स्तरीयतामा प्रश्न उठ्न थालेको छ । बढ्दो प्रतिस्पर्धासँगै आफूलाई टिकाइराख्न स्तरीयतातर्फ ध्यान दिनुपर्नेमा त्यसो हुन सकिरहेको देखिँदैन । स्टुडियो धेरै खुले तर स्टेरियो सङ्स निकाल्न मिहेनत गरेनन् । सङ्ख्या बढ्दैमा हर्षित हुने अवस्था रहेन । कामको गुणस्तर नरहेपछि सङ्गीतको बाढी आए पनि त्यसको औचित्य रहन्न । वास्तवमा भन्ने हो भने यति धेरै स्टुडियो नै चाहिन्न । राम्रो गुणस्तरको रेकर्डिङ भएको गीत निकाल्ने चुनौती अझै पनि कायम छ नेपालका स्टुडियोहरूलाई ।

धेरैजसो स्टुडियोहरूले प्रविधिलाई पछ्याए पनि दक्ष प्राविधिक र गुणस्तरलाई कायम गर्न सकेकै छैनन् । दक्ष साउन्ड इन्जिनियरहरूको कमीले पनि यसमा ध्यान पुग्नसकेको छैन । एक–दुई महिना सिकेकै भरमा वरिष्ठ रेकर्डिस्ट बन्न खोजेपछि कहाँबाट आउँछ गुणस्तर ? स्तरको कुरो उठाउँदा एउटा पाटो स्टुडियो पनि हो भने अर्को स्वयम् गायक–गायिका र सङ्गीतकार पनि हुन् । सङ्गीतकर्मीले आफैँ पनि गुण बुझ्न नसक्दा कतिपय अवस्थामा गीत प्राविधिकरूपमा स्तरहीन बन्ने गरेको पनि देखिन्छ । विशेषतः सङ्गीतका बारेमा नबुझी यस क्षेत्रमा हामफाल्ने सौखिनहरूमा यस्तो समस्या देखिएको छ । स्टुडियो व्यवसायीहरूलाई यो निकै ठूलो चुनौती हो ।

गीत–सङ्गीतको गुणस्तर नहेरी केवल कामका लागि जस्तोसुकै काम पनि लिँदा स्टुडियोको साख घट्दै गएको छ । गीत–सङ्गीतको कुनै मापदण्ड नहुँदा जस्तो पायो त्यस्तै गीत बजारमा आइरहेका छन् । नेपाली सङ्गीतको विकास हुनु राम्रो हो । लोकप्रिय हुनु झनै राम्रो तर गुणस्तरहित गीतको बढी चर्चा हुनु राम्रो होइन ।

डिजिटल प्रविधिद्वारा रेकर्ड गरिने भएकाले गुणस्तर हुन्छ नै भन्न सकिन्न । डिजिटल भन्दैमा सबै कुरा आफैँ राम्रो हुने होइन । कम्प्युटरको सहायताले रेकर्डिङ गर्दा सजिलो मात्र हुने हो । सङ्गीत आफैँ गुणस्तरीय बन्ने होइन । डिजिटल प्रविधिबाट रेकर्ड गर्दा स्पष्ट सुनिने र नोइज कम हुने भए पनि दक्ष रेकर्डिस्ट भएन भने गुणस्तरीय सङ्गीत उत्पादन हुनसक्दैन । नेपालमा केही रेकर्डिस्टहरू दक्ष भए पनि स्टुडियोको सङ्ख्याअनुरूप रेकर्डिस्टहरूको सङ्ख्या वृद्धि हुनसकेन ।

कुरा प्रविधिको भन्दा पनि प्राविधिकको हो । गाउने, बजाउने र रेकर्डिङ गर्ने व्यक्ति दक्ष नभए जतिसुकै उच्चस्तरको उपकरण भित्रिए पनि के गर्नु ? यो पनि एउटा ठूलो चुनौती बनेर उभिएको छ नेपाली सङ्गीत क्षेत्रमा । यसको समाधानका लागि अब रेकर्डिङ व्यावसायीहरूले प्राविधिक ज्ञान र प्राविधिज्ञ उत्पादनतर्फ जोड दिनुपर्ने देखिन्छ । गीत रेकर्डिङका लागि पछिल्ला अत्याधुनिक उपकरणको कमी छैन नेपालमा । प्रविधि भएर पनि सन्तोषजनक रूपमा गुणस्तरीय उत्पादन हुननसकेको विडम्वनापूर्ण अवस्था नेपालमा छ ।

कुनै समय गीत सुन्ने चल्तीको माध्यम रेडियो नेपाल थियो। त्यतिबेला कुन–कुन गीत रुचाइए भनेर थाहा पाउन रेडियो नेपाल सुन्नैपर्ने अवस्था थियो। रेडियो नेपालमा लाइव रेकर्ड गरेका हरेकजसो गीतहरूले वाहीवाही पाउँथे। अवस्था कस्तोसम्म थियो भने रेडियो नेपालले जे बजायो, त्यही चल्थ्यो। नारायण गोपाल हुन् वा तारा देवी, अरुणा लामा, भक्तराज आचार्य, बच्चु कैलाश हुन् वा प्रेमध्वज यिनका गीतहरू बढी चल्थे।

गायक प्रकाश श्रेष्ठ, उदितनारायण झा, रविन शर्माहरू पनि रेडियो नेपालबाटै चम्किएका हुन्। कुनै समय हरेकजसो नेपालीको घरमा मादल, खैजडीजस्ता वाद्यहरू हुन्थे, जो अहिले पनि कतिपयका घरमा छन्। त्यस वेला श्रोताका लागि छनोटका धेरै विकल्प पनि थिएन । त्यसपछि क्यासेट युग सुरु भयो। क्यासेट जेनरेसनसँगै ब्याण्डहरू उदाउन थाले। माध्यममा आएको विविधतासँगै सुन्ने माध्यम र तरिकाहरू पनि परिवर्तन हुँदै गए । अहिले सङ्गीत पारखीलाई रोजाइअनुसार छानी–छानी गीत–सङ्गीत सुन्ने दर्जनौं अप्सन उपलब्ध छन् ।

आफ्नो रुचिअनुसार कोही लोकगीत सुन्छन्, कोही पप, र्‍याप, हिपहप, सुगम सङ्गीतमा रमाइरहेका छन्। अङ्ग्रेजी, हिन्दी गीतहरू पनि रुचिअनुसार सुनिरहेकै हुन्छन् । अहिले सङ्गीतमा पनि एक किसिमको “बफेट डिनर” को युग सुरु भएको छ, जे मन लाग्यो छानेर सुन्न पाइने।

यस्तो परिस्थितिले पनि सङ्गीतमा निकै ठूलो परिवर्तन ल्याइदिएको छ । न त गीत कलेक्सन गर्नुपर्ने झमेला, न त एल्बम किन्नु नै पर्ने जे मन लाग्यो त्यही तुरुन्त सुन्न पाइने । आजकल गीतहरू हावामै उडिरहेझैं लाग्ने जमाना आयो । बदलिँदो परिस्थितिले सङ्गीतमा दृश्य–अदृश्य चुनौती थपिदिएका छन् । यस्ता चुनौतीको सामना गर्दै अघि बढ्नुको विकल्प छैन ।

Tags :

Share :

Leave a comment