सङ्गीतप्रविधिमा आएका परिवर्तन र चुनौतीहरू
- April 27, 2025
April 17, 2025
म्युजिक नेपालको विगत र वर्तमान बुझ्न नेपालको सङ्गीत व्यवसायको पृष्ठभूमि बुझ्नु जरुरी छ । नेपालमा सङ्गीत व्यवसायको बीउ राणाकालमै रोपिएको थियो । नेपाली गीत–सङ्गीतको व्यावसायिक र संस्थागत विकासका दृष्टिले विश्व सङ्गीतको इतिहाससँग तुलना गर्दा लामो देखिन्न । वि.सं. १९६० मा नेपालमा ग्रामोफोन भित्रिएपछि नेपालमा बल्ल सङ्गीतको श्रुति परम्परामा ब्रेक लाग्यो । सङ्गीतमा चासो लिने सबैको ग्रामोफोनप्रति ध्यान खिचियो । सुन्नलाई नेपाली गीत थिएनन् । हिन्दी गीतकै भर पर्नुपर्ने अवस्था थियो ।
ग्रामोफोन आएपश्चात् नै नेपाली गायकहरूले आफूले गाएको गीत आफैँले पनि सुन्न पाइँदो रहेछ भन्ने जाने । वास्तवमा ग्रामोफोनले गीतको स्थायित्व कायम गरिदिएर सङ्गीतमा एउटा क्रान्ति नै ल्याइदिएको थियो । ग्रामोफोनको लोकप्रियता देखेर जनकलाल जोशीले वि.सं. १९६१ सालमै नेपालमा ग्रामोफोन र बजाउने डिक्स बेच्ने पसल खोले । उनकै लगानीमा वि.सं. १९६५ मा सर्वप्रथम सेतुरामको स्वरमा गीत रेकर्ड पनि भयो । यो घटना नेपाली सङ्गीतको युगान्तकारी हो । यहीबाट सुरू भयो नेपाली गीत–सङ् गीतको व्यावसायिक इतिहास ।
जनकलाल जोशीले समन्वय गरेर कलकत्तामा रेकर्ड गराउने अभिभारा बोक्थे । रेकर्ड भएका डिक्स पनि बेचिदिन्थे आफ्नो पसलमार्फत् । कलाकारले बिक्रीबाट पैसा पनि पाउँथे । कतिपय गायक गायिकाले साहुहरूसँग बक्सिस लिएर पनि गीत रेकर्ड गरेको कुरा विभिन्न पुस्तकहरूमा पढ्न पाइन्छ । गायक गायिकाहरूले गीत रेकर्ड गर्ने भनेर राणा शासकहरूसँग पनि पैसा सहयोग लिएको कुरा पनि सुनिन्छ । यसबाट के देखिन्छ भने सानै रूपमा भए पनि नेपालमा सङ्गीतले व्यवसाय राणाकालमै देखिएको थियो ।
वि.सं. २००७ सालमा रेडियो नेपालको स्थापनापश्चात् रेडियो नेपालले पनि जनकलालले जस्तै गायक गायिकालाई कलकत्ता लगेर गीत रेकर्ड गराउन थाल्यो । यसबाट पनि सङ्गीत अझ व्यवसायिक मोडमा आयो । रेडियोमा प्रत्यक्ष गीत गाएरै घरखर्च चलाउने गायकहरू त्यसपछि भेटिन थाले । गायनप्रतिको रुचि बढ्दै गएकाले सङ्गीतकै विकासका लागि धेरै संघसंस्था खुल्न थाले । इन्द्रेणी रेकर्डस्, कलाकुन्ज यसैका उदाहरण हुन् ।
वि.सं. २०१४ सालसम्म नेपाली गायक गायिकाहरू कलकत्ता गएर गीत रेकर्ड गराउँथे । राजा महेन्द्रलाई अमेरिकी दूतावासले रेकडिङ मेसिन दिएपछि नारायणहिटी दरबारमै पनि गीत रेकर्ड हुन थाल्यो । राजालाई मनपरेका थुप्रै गायक गायिकाले दरबारमा गीत रेकर्ड गराउने अवसर पनि पाए । दरबारमा पहुँच नहुनेहरू र राजाको नजरमा नपरेकाहरू कलकत्ता नै पुग्थे ।
सरकारले वि.सं. २०१८ सालमा रानी रत्नको नामबाट रत्न रेकडिङ संस्थान खोल्यो । यसको काम नेपाली गीत रेकर्ड गराउने र बिक्री बितरण गर्ने थियो । रत्न रेकडिङले विधिवत् रूपमा वि.सं. २०२२ सालबाट रेकडिङ र डिक्स उत्पादन गर्न थाल्यो । नेपालमा रेकर्ड गरेर कलकत्ता र जापान पठाएर डिक्स बनाएर रत्न रेकर्डले बेच्न थाल्यो । यसले पनि नेपालमा सङ्गीत व्यवसाय फस्टाउँदै लग्यो । टोलटोलमा क्यासेट पसल खुल्न थाले । बजारमा नेपाली गीतभन्दा हिन्दी गीतकै चल्ती बढी थियो । यसले पनि नेपालमा सङ्गीत व्यवसायको आधार खडा गर्दै लग्यो ।
म्युजिक नेपालको स्थापनाः
नेपालमै गीत रेकर्ड र गीत उत्पादन हुन थालेपछि योप्रतिको चासो बढ्दै गयो । रेडियो र रत्न रेकर्डिङलाई कामको चाप बढ्दै गयो । चाहेर पनि सबैलाई मौका दिन सकिने अवस्था रहेन । निजी क्षेत्रको उपस्थिति पनि समयले माग्न थाल्यो । तर यसप्रति कसैको चासो पुगिरहेको थिएन । अन्ततः वि.सं. २०३९ सालमा निजी क्षेत्रको आँखा सङ्गीत व्वसायमा पर्यो र म्युजिक नेपालको स्थापना भयो । नेपाली सङ्गीतमा नयाँ व्यावसायिक चरणको सूत्रपात भयो ।
४१ वर्षअघि न्युनतम् प्राविधिक तथा वित्तीय स्रोतबाट घरेलु उद्योगको परिभाषाअन्तर्गत सञ्चालनमा आएको म्युजिक नेपाल ४१ वर्षसम्म रहला भनेर सायद कसैले कल्पना गरेका थिएनन् । दर्ता भएको केही महिना लगानीकर्ताहरूसँगको छलफल तथा प्राविधिक विषयमा बित्यो । केही महिनापश्चात् दुई बहादुर सजनराम भण्डारी र यादव बासकोटाले १/१ लाख रूपैया लगानी गर्न आँट गर्नुभयो र काम अघि बढ्यो । थलोको रूपमा डिल्लीबजार उकालो (पुतलीसडकपट्टि) को एभरेस्ट एक्सरे भित्रको नारायण दाइको ३ कोठे घर मासिक ८ सय बहाल तिर्ने गरी लिइयो । आठ महिना त्यहाँ बसेपछि ठाउँको अलि अभाव भएको कारण धोबीधारामा सर्यो । त्यहाँ २ वर्ष र अघिल्लो ८ महिना नीतिगत काम र बुझेका कुराहरू लागु गर्न व्यतित भयो ।
सिद्धान्ततः कुनै पनि उद्योग बाँच्नका लागि निरन्तर विस्तार हुँदै जानुपर्छ । यथास्थितिमा कुनै पनि संस्था टिक्न सक्दैन भन्ने कुरा म्युजिक नेपालमा आवद्ध सबै शेयर होल्डरले बुझेका थिए । तसर्थ, साङ्गीतिक सुझवुझपूर्ण नीति निर्माण तथा उचित बजार खोजीमा सबै दत्तचित्त थिए ।
म्युजिक नेपाल स्थापनाताका देश खलकुदमय थियो । तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव शरद्चन्द्र शाहले राष्ट्रिय खेलकुदमा राष्ट्रिय दोहोरी प्रतियोगिता राखिदिएपछि नेपालभरि नै दोहोरी गीतको लोकप्रियता बढेको अवस्था थियो । त्यही लहरलाई समाउँदै म्युजिक नेपालले पनि लोकदोहोरी गीतलाई प्राथमिकता दियो । आफ्नो पहिलो गीतिएल्बम “जयनन्द लामाका लोकगीतहरू“ प्रकाशन गरेर म्युजिक नेपाल बजारमा आयो । यसपश्चात् राम थापा, रामशरण नेपालीका लोकगीतहरू विजयसिंह मुनालका आधुनिक गीतहरू तथा चलचित्र वासुदेव गीति एल्बम म्युजिक नेपालले बजारमा पठायो । माहौल नै सकारात्मक भएकाले म्युजिक नेपालको सोच सफल भयो । एल्बमहरू हिट भए ।
म्युजिक नेपालप्रति सर्जकहरू आकर्षित हुन थाले । काम पनि बढ्दै गयो । धोविधाराको अफिस पनि साँगुरो भयो । तसर्थ कालिकास्थानमा सर्यो । आफ्नो कामलाई बिस्तार गर्दै म्युजिक नेपालले कालिकास्थानमै रेकर्डिङ स्टुडियो पनि बनायो । निजी क्षेत्रबाट स्थापित यो पहिलो स्टुडियो थियो । यही स्टुडियोमा धेरै कलाकारहरूले आफ्नो आवाज रेकर्ड पनि गराए ।
म्युजिक नेपालले स्टुडियो बनाएपश्चात् योप्रति अझै आकर्षण बढ्यो । गीत पनि त्यहीँ रेकर्ड गर्ने एल्बम पनि त्यहीँबाट निकाल्ने काम बढ्दै गयो । निकै राम्रा राम्रा गीत रेकर्ड र एल्बम त्यहाँ बसेर म्युजिक नेपालले बनाएको छ । स्टुडियो र कम्पनी चल्न थालेपछि बिस्तारै आफ्नै भवन बनाएर २०४८ सालमा म्युजिक नेपाल अनामनगरमा सर्यो । खाली क्यासेट उत्पादन र डविङ सेवा पनि म्युजिक नेपालले बिस्तार गर्यो । अहिले अनामनगर नै म्युजिक नेपालको स्थायी थातथलो भएको छ ।
एउटा घर बनाउन धेरै पक्षको सीप र परिश्रम चाहिन्छ । जग खन्नेदेखि गारो लगाउने, झ्यालढोका बनाउने, छत ढलान र रंगरोगन गर्नेसम्मका चरणहरूमा प्रत्येक कर्मीको सीप, जागर र परिश्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तर पनि कालान्तरमा घरको महत्वमाथि एकजना मानिसको बढि नै चर्चा हुन्छ । त्यो घरको सोच बनाउने र डिजाइन बनाउने इन्जिनियर । जसको घरको प्रारम्भिक स्वरूपको रेखांकनदेखि त्यसको फिनिसिङ टचसम्मको योगदान रहन्छ । किनभने उसैको मार्गनिर्देशनमा त्यस घरको निर्माण सम्पन्न हुन्छ । यसको स्वरुप निर्माणदेखि रेखांकन सम्मका सबै चरणमा सहभागी हुने व्यक्ति हुन् – सन्तोष शर्मा । जसको सोच र ढाँचामा यो जन्मियो । हुर्कियो । यस मोडसम्म आइपुग्यो । नेपाली सङ्गीतले व्यावसायिक मोड लियो ।
म्युजिक नेपाललाई एउटा घरसँग तुलना गरेर हेर्दा यसको संरचनामा अनेकांै शिल्पीहरूको हात छ । आरम्भका दिनहरूमा झोलामा क्यासेट बोकेर पसलहरूमा “हाम्रा क्यासेट पनि बिक्रीमा राखिदिनूस्” भन्दै अनुनय गर्दै भौतारिने जेके शर्मा र ईश्वर अर्यालको पनि म्युजिक नेपाललाई बनाउनमा ठूलो हात छ । प्रविधि शून्य अवस्थामा गीतको रेकर्ड गर्ने र यस पक्षमा परामर्श दिन सक्षम प्रदीप उपाध्यायको पनि यसको जग हाल्ने क्रममा प्रशस्त योगदान छ ।
ज्ञान र अनुभव खर्चेर म्युजिक नेपाललाई नीति नियमको आधारमा निरन्तरता दिन कम्मर कसेर लाग्ने सङ्गीतकार मदन दिपबिमको पनि उल्लेखनीय योगदान छ । यसै चरणमा रेकर्डिङमा सम्वद्ध परशुराम चौधरी र रेकर्डिङपछि प्रत्येक चरणलाई आफ्नो काँधमा बोकेर झण्डैझण्डै श्रोताको दैलोसम्म पुर्याएर बिसाउने कृष्ण खनालको योगदान पनि त्यतिकै स्मरणीय छ । यसबाहेक पुतलीसडक, धोबीधारा, कालिकास्थान हुँदै अनामनगरसम्मको यात्रामा अनेकांै व्यक्तित्वहरूले होस्टेहैसे गरेर म्युजिक नेपालको इतिहाससँग महत्वपूर्ण रूपमा जोडिएका छन् । सबैको योगदान अतुलनीय र महान् छ । ज्ञछ यात्राका चालिस वर्ष गीतसङ्गीतको उत्पादन र वितरण गर्ने सरकारी निकाय रत्न रेकर्डिङले हुनुपर्ने रफ्तारमा काम गर्न नसकेको अवस्थामा म्युजिक नेपालको स्थापना भएकाले पनि यसको महत्व बढ्दै गयो । रत्न रेकर्डिङको ओरालो यात्राले सङ्गीतको बन्दै गएको व्यावसायिक माहौल बिगिँ्रदै गएको थियो ।
त्यसलाई सम्हाल्न म्युजिक नेपाल नआएको भए नेपाली सङ्गीत यो बिन्दुमा आउन निकै कठिन हुन्थ्यो । रत्न रेकर्डिङको नाममा भएका सबै सरकारी लगानी निष्प्रभावी बनिसकेका थिए ।
यस अवस्थामा म्युजिक नेपालले आनो बाटो आफैँ बनायो । पहराहरू आफैँले फुटायो । भीरहरू ताछेर एक्लैले गोरेटो बनायो । यति गर्दा पनि बाटोमा धेरै कुइनेटाहरू थिए । त्यसैले कतै ठोकिन्छ कि भनेर सतर्कतापूर्वक जोगिँदै हिड्ँयो । म्युजिक नेपालले बिस्तारै गोरेटोलाई बाटो र बाटोलाई राजमार्गमा फैलाउँदै अविराम हिँडिरह्यो ।
यस यात्रामा सुरुमा म्युजिक नेपाल एक्लो थियो । म्युजिक नेपाल यात्रामा निस्केपछि अरू पनि क्रमशः निस्कन थाले । यात्रा बढ्दै गएपछि अरू पनि निस्कन थाले । यसरी एकबाट दुई दुईबाट चार हुँदै अनगिन्ती म्युजिक कम्पनी देखा परे ।
सङ्गीतको व्यापारले एउटा गति समायो । रत्न रेकर्डको एकाधिकार म्युजिक नेपालले तोड्यो । म्युजिक नेपालको अरुले । तर म्युजिक नेपाल कहिल्यै विचलित बनेन । यस क्रममा कहिले स्रष्टा कलाकारले यसलाई डोर्याए । कहिले म्युजिक नेपालले उनीहरूलाई डोर्यायो । यसरी शून्यबाट आफ्नो यात्रा तय गरेको म्युजिक नेपालले नेपाली सङ्गीतलाई एउटा निश्चित मार्ग र गन्तव्य प्रदान गरिसकेको छ । समयले म्युजिक नेपाललाई कलाकर्मीहरूको चौतारी बनाएको छ ।
विक्रमको ६० को दशकमा आइपुग्दा नपुग्दै सङ्गीत क्रमशः परिवर्तित युगमा पुगिसकेको थियो । यसको भेउ नेपालका सङ्गीत कम्पनीहरूले प्राप्त गर्न सकिरहेका थिएनन् । म्युजिक नेपालले परिवर्तित समय र प्रविधिलाई आत्मसात् गर्न कम्मर कस्यो । लगभग बिक्न छोडिसकेको सङ्गीतलाई फेरि चलायमान बनाउन लागि पर्यो । नेपालका टेलिफोन कम्पनीहरूले निःशुल्क प्रयोग गरिरहेको कलर रिङ्टोनलाई नगदमा परिणत गर्न म्युजिक नेपाल सफल भयो । यसले नेपाली सङ्गीतलाई फेरि वाहार दियो ।
कलर रिङ व्याकटोनमार्फत् नै म्युजिक नेपालले तत्कालिन समयमा सञ्चालनमा आएका धेरै सङ्गीतको कारोवार गर्ने कम्पनीहरूलाई एउटै मालामा उन्न सफल भयो । एउटा एग्रीग्रेटरको भूमिकामा आफूलाई राखेर सारा कम्पनीलाई रिंङव्यागटोन नम्बर उपलब्ध गराउने काममा म्युजिक नेपाल अग्रस्थानमा देखियो ।
कलरटोनपश्चात् नेपाली सङ्गीत क्रमशः डिजिटल युगमा प्रवेश गर्यो । हुन त यसको पृष्ठभूमि अलि अगाडिबाटै बनिसकेको थियो । यसलाई प्रारम्भमै नेपालका सङ्गीत व्यवसायीहरूले आत्मसात् गर्न सकेनन् । डिजिटल प्लेटफर्म बनाउने कामको अगुवा पनि म्युजिक नेपाल नै बन्यो । आफूसँगै अरुलाई पनि समेट्दै डिजिटल कारोबारमा म्युजिक नेपाल अघि बढ्न थाल्यो र आजको यो अवस्थामा आइपुग्यो ।
वि.सं. २०७९ सालबाट म्युजिक नेपाल पब्लिक लिमिटेडमा परिणत भएको छ । यसरी पब्लिक लिमिटेड बन्ने सङ्गीत कम्पनीमा म्युजिक नेपाल पहिलो बन्न पुग्यो । यसरी लिमिटेड बनेपछि म्युजिक नेपालको कारोवारले अझ फस्टाउने अवसर प्राप्त गर्नेछ । नेपाली सङ्गीतले राम्रो गति पाउने कुरामा दुई मत नरहला ।
Leave a comment